loader

Breaking News

सुवास घिसिङले जुराइदिए गोर्खा जातीय मनहरू मिल्ने अवसर

Image
 

शरद् नेपाल

29 जनवरी, 2025

धेरै वर्षपछि फेरि एकपल्ट सयौं गोर्खा मनहरूले आफ्नो धरातललाई सम्झिरहेका थिए....
मिरिकको मञ्जुश्री पार्कमा देखिएको दृश्य हेर्नलायकको थियो। सबैलाई जातीयताको एउटै कसीमा बाँधेको थियो। त्यहाँ न राजनीति थियो, न कसैको विरोध थियो न त कुनै आरोप-प्रत्यारोप अनि प्रतिक्रियाहरू नै थियो..... थियो त बस्.... जातीय चेतनाको वीजारोपण गर्ने गोर्खाल्याण्डका प्रणेता सुवास घिसिङलाई श्रद्धाञ्जलि अर्पण गर्ने हजारौं हातहरू मात्र .....
कुनै-कुनै यस्ता पर्व तथा अवसरहरू हुन्छन्, जसले विभिन्न राजनैतिक नेतृत्वहरूलाई एउटै मञ्चमा उभिन सहज गराइदिँदछ। राजनीतिदेखि माथि उठ्नलाई अभिप्रेरित गराउँदछ। मञ्जुश्री पार्कमा निर्माण गरिएको स्व. सुवास घिसिङको स्मारकले सबैलाई यो अवसर जुराइदिएको थियो। यस्तो अवसर शायदै दार्जीलिङ पहाड़को राजनैतिक इतिहासमा विरलै जुरेको हुनुपर्छ।
गोर्खाल्याण्डका प्रणेता तथा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुवास घिसिङको स्मृतिमा निर्माण गरिएको समाधि अर्थात् स्मारकको 29 जनवरी बुधवार अनावरण गरियो।  मिरिक महकुमाको मञ्जुश्री पार्कमा निर्माण गरिएको समाधि अनावरणसितै स्व. सुवास घिसिङ अनि तिनकी पत्नी धनकुमारी सुब्बा घिसिङलाई श्रद्धाञ्जलि अर्पण गरियो। 
स्मरण गराइन्छ, आजकै दिन 29 जनवरी 2015 –मा  सुवास घिसिङको नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो भने 1 फरवरी 2015 –को दिन उनको अन्तिम संस्कार यही मञ्जुश्री पार्कमा गरिएको थियो।
भारतभरि छरिएर बसेका गोर्खाहरूमाझ जातीय चेतना जगाउँदै आफ्नो अस्तित्व र चिन्हारीको निम्ति आवाजहरूलाई संगठित गर्ने व्यक्तित्व थिए सुवास घिसिङ। गोर्खाहरूले संघर्ष गरी पाएको पहिलो उपलब्धिस्वरूप दार्जीलिङ गोर्खा पार्वत्य परिषदमा अध्यक्ष बनेका सुवास घिसिङलाई तर राजनैतिक उतारचढ़ाउले  26 जुलाई 2008 –मा पहाड़बाट निर्वासित बनाएको थियो। यति मात्र होइन, सुवास घिसिङले आफ्नी पत्नी धनकुमारी घिसिङको शवसम्म पहाड़ चढ़ाउन नपाएको तीतो यथार्थ पनि इतिहासमा कालो दिन बनेर अंकित रहेको छ। 16 अगस्त 2008 –मा धनकुमारी घिसिङको मृत्यु भएपछि तिनको पार्थिव शरीरलाई दार्जीलिङ  लैजान नदिएको अनि गिद्धपहाड़को जीरोबाटै फर्काइएको घटनाले सुवास घिसिङ राजनैतिक तिरस्कारका शिकार बनेको योभन्दा ठूलो उदाहरण अर्को थिएन।
तर, समय कति बलवान हुन्छ भन्ने कुरो आज उही 29 जनवरीको दिन सबैले अनुभव गरे होलान्। आजभन्दा 16 वर्षअघि तिरस्कृत बनेका घिसिङलाई आज 16 वर्षपछि फेरि सबैले स्मरण गरिरहेका थिए, उनको सबैले प्रशंसा गरिरहेका थिए। 
यसैबिच, जीटीए प्रमुख कार्यपाल अनित थापाले सुवास घिसिङकै देनले आज आफूहरूले राजनीति गरिरहेको बताइरहेका थिए। एकताका माकपाका वरिष्ठ नेता अनि राज्यका पूर्व नगर विकास मन्त्री रहेका अशोक भट्टाचार्यले सुवास घिसिङसितको मित्रतलाई सम्झना गर्दै घिसिङलाई गोर्खा जातिका पिता भन्दा सही हुने मन्तव्य पोखे। कसैले सुवास घिसिङलाई गोर्खाहरूका एकमात्र महान् नेता भन्दैथिए भने जीटीए सभासद विनय तामङले उनलाई गोर्खा जातिका नेल्सन मण्डेलाको संज्ञासमेत दिइरहेका थिए। यसैगरी, शिक्षाविद् डा. महेन्द्र पी. लामाले घिसिङलाई राज्य अनि केन्द्र सरकारलाई हल्लाउने व्यक्ति भनी बताइरहेका थिए भने हिल टीएमसी अध्यक्ष शान्ता छेत्रीले त सुवास घिसिङलाई गोर्खाहरूको डाइमण्ड लिडर भनी बताइरहेकी थिइन्।
समाधि अनावरण गर्नअघि स्व. घिसिङका छोराहरू क्रमैले गोरामुमोका वर्तमान अध्यक्ष मन घिसिङ र सागर घिसिङ लगायत परिवारले सर्वधर्म पूजा-अर्चना गरेका थिए।
यस समारोहमा स्व. सुवास घिसिङ अनि तिनकी पत्नी धनकुमारी सुब्बा घिसिङलाई श्रद्धाञ्जलि अर्पण गर्न जीटीएका मुख्य कार्यपाल साथै भागोप्रमो अध्यक्ष अनित थापा, पश्चिम बंगालका पूर्व नगर विकास मन्त्री एवम् माकपा नेता अशोक भट्टचार्य, हिल तृणमूल कंग्रेस  अध्यक्षा शान्ता छेत्री, हिल तृणमूल कंग्रेस चेयरम्यान एलबी राई, माकपा नेता समन पाठन, गोरानिमो अध्यक्ष दावा पाख्रिन, विधायक निरज जिम्बा, शिक्षाविद् डा. महेन्द्र पी लामा, जीटीएसभाका चेयरम्यान अञ्जुल चौहान, जीटीएका कार्यकारी सभासदहरू अरूण सिग्ची, मिलेस राई, धुर्ब बम्जन, विनय तामङ, पूर्व विधायकहरू अमर राई, रोहित  शर्मा, एनबी छेत्री, गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका संयोजक किशोर प्रधान,  भागोप्रमो केन्द्रीय महासचिव अमर लामा, सांसद राजु विष्टका प्रतिनिधि, गोजमुमोका प्रतिनिधिहरू, अधिवक्ताहरू क्रमैले बन्दना राई, प्रताप खाती र वीरेन्द्र रसाइली, गोरामुमो पार्टीका शीर्षस्थ नेता तथा कार्यकर्ताहरू लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधि एवम् आम नागरिकहरू उपस्थित  थिए।
उल्लेखनीय छ, यस समारोहमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी, सिक्किमका मुख्यमन्त्री पीएस गोले, जीटीए प्रमुख कार्यपाल अनित थापा, दार्जीलिङका सांसद राजु विष्टसहित सबै राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिवर्ग, बुद्धिजीवी, शिक्षक-शिक्षिका, भूतपूर्व सैनिक लगायत दार्जीलिङ पहाड़, सिलगढ़ी, तराई अनि डुवर्स क्षेत्रका सुवास घिसिङका अनुयायीहरू सबै-सबैलाई निमन्त्रणा जनाइएको थियो। सिक्किमका मुख्यमन्त्री पीएस गोले आफ्नो कार्य व्यस्तताका कारण सो समारोहमा उपस्थित हुन नसक्ने अगावै जानकारी पाइएको थियो भने कंग्रेस नेता डा. मुनिष तामङले यस महत्त्वपूर्ण अवसरमा आफू उपस्थित हुन असमर्थ बनेको पत्रमार्फत् जानकारी गराएका थिए। तथापि, समारोहमा निमन्त्रणा जनाइएका प्रायजसो व्यक्तित्वहरू भने यस कार्यक्रममा आफ्नो उपस्थिति दिन मञ्जुश्री पार्क पुगेका थिए।


Leave a Comment